काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता प्राडा गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या वृद्धि गर्ने सरकारको तयारीप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन माग गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा क्षेत्रमा विद्यार्थी भर्ना संख्या बढाउने तथा मेडिकल, डेन्टल र नर्सिङ कलेजको सिट थप्ने निर्णयले शिक्षाको गुणस्तरमा गम्भीर असर पार्ने दाबी गरेका छन्।
उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीले तोकेका मापदण्ड तथा पूर्वाधार पूरा नगरेका संस्थाहरूलाई सिट वृद्धि गर्न दिन नहुने बताएका छन्। यस्ता निर्णयले चिकित्सा शिक्षालाई पुनः अव्यवस्थित बनाउने र स्वास्थ्य सेवाको गुणस्तर खस्किने उनको भनाइ छ।
डा। केसीले विगतका संघर्षबाट स्थापित चिकित्सा शिक्षा आयोगलाई राजनीतिक हस्तक्षेप र स्वार्थ समूहको प्रभावबाट कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। आयोगले प्रारम्भिक चरणमा प्रभावकारी काम गरे पनि पछिल्लो समय ऐनको मर्मविपरीत गतिविधि बढेको उनको दाबी छ।
उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सेवामूलक तथा सर्वसाधारणको पहुँचमा राख्नुपर्नेमा जोड दिएका छन्। विदेशी विद्यार्थीको भर्ना संख्या बढाउने तथा सिट विस्तार गर्ने निर्णयले चिकित्सा शिक्षामा व्यापारीकरण बढ्ने र आम नागरिकको स्वास्थ्यमा असर पर्ने चेतावनी दिएका छन्।
सरकारले प्रस्तावित निर्णय फिर्ता नलिए तथा आफ्ना माग सम्बोधन नगरे पुनः सत्याग्रहसहित आन्दोलनमा जाने डा। केसीले बताएका छन्। उनले सम्बन्धित सरकारी निकाय र संसदका समितिहरूलाई समेत ध्यानाकर्षण गराइसकेको जानकारी दिएका छन्।