काठमाडौं । नेपालमा चक्कर आउने (डिजिनेस), रिगाउने (भर्टिगो) तथा सन्तुलनसम्बन्धी (ब्यालेन्स डिसअर्डर) समस्याको प्रभावकारी निदान, उपचार र पुनर्स्थापना सेवाको विकास गर्ने उद्देश्यसहित नेप्लिज सोसाइटी फर इक्विलिब्रियम एण्ड ब्यालेन्स (NSEB) स्थापना गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नवगठित संस्थाका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको परिचयसँगै निरन्तर चिकित्सकीय शिक्षा (CME) कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।
संस्थाको अध्यक्षमा डा. योगेश न्यौपाने, महासचिवमा डा. रागेश कर्ण तथा कोषाध्यक्षमा डा. साहरा अधिकारी चयन भएका छन्। सदस्यहरूमा प्राडा रविन्द्रभक्त प्रधानांग, डा. पारश रायमाझी, डा. प्रतिक्षा चालिसे, डा. कृपा डंगोल, डा. सांज्ञा पौडेल, डा. मञ्जु ज्ञवाली र डा. धर्म डंगोल रहेका छन्। सल्लाहकारमा प्राडा हरि भट्टराई, प्राडा कृष्णकुमार ओली, प्राडा सरोजप्रसाद ओझा तथा प्राडा विक्रमप्रसाद गजुरेल रहेका छन्।
नवनियुक्त अध्यक्ष डा. न्यौपानेले नेपालभर चक्कर तथा सन्तुलनसम्बन्धी रोगको गुणस्तरीय निदान, उपचार र पुनर्स्थापना सेवामा सुधार ल्याउनु संस्थाको मुख्य उद्देश्य रहेको बताए। उनले जनचेतना अभिवृद्धि, स्वास्थ्यकर्मीको क्षमता विकास, अनुसन्धान प्रवर्द्धन तथा वैज्ञानिक प्रमाणमा आधारित उपचार प्रणालीलाई प्राथमिकतामा राखिने जानकारी दिए।
संस्थाले ENT विशेषज्ञ, न्युरोलोजिस्ट, अडियोलोजिस्ट, फिजियोथेरापिस्ट, मनोचिकित्सक, मनोवैज्ञानिक, नेत्ररोग विशेषज्ञ तथा प्राथमिक स्वास्थ्य चिकित्सकबीच बहुविषयगत सहकार्यलाई प्रवर्द्धन गर्दै बिरामी केन्द्रित सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
त्यसैगरी, वैज्ञानिक रूपमा प्रभावकारी मानिएको भेस्टिबुलर पुनर्स्थापना (Vestibular Rehabilitation) सेवा देशभर विस्तार गर्न पहल गर्ने, कार्यशाला, तालिम, सम्मेलन तथा CME कार्यक्रममार्फत स्वास्थ्यकर्मीको ज्ञान र सीप अभिवृद्धि गर्ने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी अनुसन्धानलाई प्रोत्साहन गर्ने योजना पनि संस्थाले सार्वजनिक गरेको छ।
विश्वका करिब २० देखि ३० प्रतिशत वयस्कले जीवनकालमा कम्तीमा एकपटक चक्कर आउने समस्या अनुभव गर्ने तथा ६५ वर्षमाथिका झण्डै एकतिहाइ व्यक्तिमा सन्तुलनसम्बन्धी समस्या देखिने विभिन्न अध्ययनले देखाएका छन्। औसत आयु बढ्दै जाँदा यस्ता रोगको भार अझ बढ्ने अनुमान गरिएको छ।
संस्थाले शिक्षा, सहकार्य, अनुसन्धान र बिरामी केन्द्रित सेवामार्फत चक्कर तथा सन्तुलनसम्बन्धी रोगहरूको उपचार र व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
.jpeg)