काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज खेतमा धान रोपेर र दही चिउरा खाएर मनाइँदैछ । खेतीपातीको चटारोमा रहेका किसानले थकान मेटाउन र शक्ति प्राप्तिका लागि दही चिउरा खाने परम्परा रहेको छ ।
नेपालमा असार १५ लाई सांस्कृतिक पर्वका रूपमा पनि मनाइन्छ । दहीलाई स्वास्थ्यका दृष्टिले पाचन सुधार गर्ने र शरीरलाई शीतलता दिने खाद्य पदार्थ मानिन्छ । विसं २०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । हिन्दू धर्म अनुसार, दहीलाई सगुन अर्थात शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दही खाने प्रचलन छ । तर, दहीले तपाईंलाई शुभसाइतको मात्र काम गर्दैन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । त्यसैले खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
दही चिउरा खानुका फाइदा
सादा, कम चिल्लो र चिनी नराखेको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । यस्तो दही खाँदा हुने फाइदा यसप्रकार छन्
- दहीमा प्रोटिन उच्च मात्रामा पाइन्छ । यसलाई खाँदा ऊर्जा दिने, भोक लाग्ने क्रम कम हुने र अन्त्यमा तौल समेत कम बनाउँछ ।
- चिउरा जुनसुकै बेलामा पनि खान सकिन्छ ।
- चिउरामा कार्बोहाइड्रेड भएकाले यसले शक्ति प्रदान गर्दछ ।
- चिउरामा आइरनको मात्रा बढी हुन्छ ।
- डिप्रेसन र चिन्ता घटाउँछ किनकि प्रोबायोटिक्स्मा हुने कीटाणुले चिन्ता र डिप्रेसन घटाउँछन् ।
- रगतमा हुने खराब कोलेस्ट्रोल घटाउँछ ।
- विभिन्न मुटुको रोगका साथै रक्तचाप घटाउँछ ।
- सङ्क्रमण कम गराई रोग विरुद्ध लड्ने क्षमता बढाउँछ ।
- डण्डीफोर, एक्जिमा लगायत अन्य छालाका समस्यामा उपयोगी हुन्छ ।
- दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।
- पाचन राम्रो बनाउने र स्नायु सम्बन्धी विकृति कम गर्ने जस्ता काम पनि गर्छ ।
- दही हाम्रो शरीरलाई चाहिने लगभग धेरै किसिमका पौष्टिक तत्वहरू (क्याल्सियम, भिटामिन बी कम्प्लेक्स् र खनिज) ले भरिपूर्ण हुने भएकोले यो खानाले रोग विरुद्धको प्रतिरोध क्षमता बढाई सम्पूर्ण स्वास्थ्यलाई सामान्य रूपमा राख्न सहयोग गर्छ ।
- दही खानाले यसमा पाइने प्रोबायोटिक्स्ले पाचन प्रणालीलाई राम्रो बनाउँछ जसले गर्दा ग्यास्ट्राइटिस्, वायु गोला, पखाला वा कब्जियत हुन पाउँदैन र भएमा निको हुन्छ ।