काठमाडौं । काठमाडौँको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा औषधि खरिद, मौज्दात व्यवस्थापन र आपूर्तिसम्बन्धी प्रक्रियामा करिब तीन करोड रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार अस्पतालको फार्मेसी शाखामा औषधि खरिद, स्टक व्यवस्थापन र आपूर्तिसम्बन्धी प्रक्रियामा अनियमितता गरी २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याइएको छ। सोही बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ।
मुद्दा दायर गरिएकामध्ये फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी कर्मचारी लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा, वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र शर्मीला श्रेष्ठ, तथा फार्मेसी सहायक केशवराज न्यौपाने र सन्दीप तिवारी रहेका छन्।
प्रवक्ता सुरेश न्यौपानेका अनुसार अस्पतालमा औषधि आपूर्ति नभएको अवस्थामा समेत सफ्टवेयरमा बिल प्रविष्ट गरिएको, स्टोरमा ठूलो परिमाणमा म्याद गुज्रिएका औषधि थन्किएको तथा कम्प्युटरमा देखिएको मौज्दात र वास्तविक स्टकबीच अन्तर रहेको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरिएको भेटिएको छ। साथै म्याद सकिएका औषधि आपूर्तिकर्तालाई फिर्ता नगरी प्रतिस्थापन तथा सोधभर्ना प्रक्रिया अघि नबढाइएको पनि खुलेको छ।
अख्तियारका अनुसार आपूर्तिकर्ता कम्पनीहरूले धरौटी रकम फिर्ता माग्दा स्टोरमा म्याद गुज्रिएका औषधि हुँदाहुँदै पनि “फिर्ता गर्नुपर्ने औषधि बाँकी छैन” भन्ने झूटो राय दिई नियमविपरीत धरौटी रकम फिर्ता गराइएको थियो। अस्पतालको मेडिकल डिभिजन प्रमुख नेतृत्वको समितिको प्रतिवेदनका आधारमा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको निष्कर्ष निकालिएको आयोगले जनाएको छ।