काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
भेटवार्तामा नर्वे सरकारको सहयोगमा नेपालमा सञ्चालन भइरहेका स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा तथा अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका विभिन्न आयोजनाको समीक्षा गरिएको थियो। दुवै पक्षले यी कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल गरेका थिए।
सो अवसरमा मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई दृष्टिगत गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन तथा जडीबुटी क्षेत्र सरकारका प्रमुख प्राथमिकतामा रहेको बताइन्। यी क्षेत्रमा नर्वे सरकारसँग थप प्राविधिक तथा विकास साझेदारीको अपेक्षा रहेको पनि उनले उल्लेख गरिन्।
राजदूत म्योसले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा नर्वे सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपालको स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउन नयाँ सहकार्यका कार्यक्रम अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिइन्।
नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ। मन्त्रालयका अनुसार पछिल्लो भेटवार्ताले दुई देशबीचको साझेदारीलाई थप मजबुत बनाउने र नेपालको स्वास्थ्य प्रणाली सुधारमा आगामी दिनमा सहकार्य अझ विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ।