काठमाडौं। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय जलनका बिरामी गणेश नेपालीलाई तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार सुरुआतमा नयाँदिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरिएको भए पनि उपचारमा संलग्न चिकित्सकहरूले अहिले स्थानान्तरण गर्दा थप जोखिम हुने सुझाव दिएका छन्।
हाल वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत पठाउने तयारी गरिने जनाइएको छ। नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। उहाँको उपचार प्लास्टिक सर्जरी विभागका संयोजक डा। पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोलीले गरिरहेको छ। सरकारले उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ।