बागलुङ। बागलुङ जिल्लामा एचआईभी संक्रमितको संख्या २२० पुगेको छ। चालु आर्थिक वर्षमा थप आठ जनामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
कार्यालयका अनुसार संक्रमितमध्ये ११४ महिला र १०० पुरुष छन् भने १५ वर्षमुनिका ६ जना रहेका छन्। संक्रमितहरूले धवलागिरि प्रादेशिक अस्पताल, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित एआरटी (निरोधात्मक) सेवा लिइरहेका छन्।
सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार नयाँ संक्रमितमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन्। असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग तथा लागुऔषध सुई साझेदारीका कारण एचआईभी सर्ने भएकाले सुरक्षित व्यवहार अपनाउन र नियमित परीक्षण गराउन आग्रह गरिएको छ। समाजमा अझै पनि रहेको लाञ्छना र भेदभावका कारण संक्रमित पहिचान र उपचारमा चुनौती रहेको जनाइएको छ।