बैतडी । बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानअन्तर्गत १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ८ हजार १८४ महिला र ५ हजार ३४७ पुरुष रहेका छन्।
स्वास्थ्य कार्यालय बैतडीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार परीक्षणका क्रममा १ हजार ४१० जनामा उच्च रक्तचाप, ८२९ जनामा मोटोपन, ५२७ जनामा मधुमेह र ९७ जनामा मिर्गौला रोग पहिचान भएको छ। गम्भीर समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ।
यस्तै, गत आर्थिक वर्षमा ६ महिनादेखि ५ वर्षसम्मका १० हजार १०३ बालबालिकामा गरिएको कुपोषण परीक्षणमा ११३ जनामा कडा र ५१६ जनामा मध्यम कुपोषण भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।