काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डलको आत्मदाह प्रयासपछि स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ।
शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ। उनको आज शल्यक्रिया गरिँदैछ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
पछिल्ला केही दिनयता देशमा आत्मदाहका घटनाहरू बढेका छन्। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो भने बुद्धनगरमा पनि अर्को आत्मदाहको घटना भएको छ। लगातार भएका यस्ता घटनाले मानसिक स्वास्थ्य र सामाजिक तनावका विषयमा गम्भीर बहस सुरु गराएको छ।