काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतना कार्यक्रम देशव्यापी रूपमा विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयका सचिव डा। विकास देवकोटाको अध्यक्षतामा बसेको अनलाइन बैठकले संघ, प्रदेश र स्थानीय तहका संरचनामार्फत समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श सेवा उपलब्ध गराउने तथा उपचारमा रहेका बिरामीलाई सहजीकरण गर्ने कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
मन्त्रालयले मानसिक स्वास्थ्य हटलाइन ११६६ र हेलो स्वास्थ्य १११५ को व्यापक प्रचारप्रसार गर्ने, सामाजिक सञ्जाल, मोबाइल रिङब्याक टोन, भिडियो सन्देश तथा अनलाइन काउन्सेलिङमार्फत जनचेतना अभियान सञ्चालन गर्ने जनाएको छ।
साथै, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब तथा गैरसरकारी संस्थाका जनशक्तिलाई परिचालन गरी मानसिक स्वास्थ्य सेवालाई समुदायमा आधारित बनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षदेखि अभियानलाई थप प्रभावकारी रूपमा देशभर सञ्चालन गरिने निर्णय पनि बैठकले गरेको छ।