मनसुन सुरु भएसँगै देशका विभिन्न क्षेत्रमा झाडापखाला र फुड पोइजनिङका बिरामीको संख्या बढ्न थालेको छ। वर्षाका कारण खानेपानीका स्रोत दूषित हुनु, उच्च तापक्रम र हुमिडिटीले खाद्य पदार्थमा हानिकारक जीवाणु तथा भाइरस तीव्र रूपमा वृद्धि हुनु र व्यक्तिगत तथा खाद्य सरसफाइमा कमी आउनुका कारण यी रोगको जोखिम बढेको हो। समयमै सावधानी अपनाउन नसक्दा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीमा शरीरमा पानीको कमी भई गम्भीर स्वास्थ्य समस्या समेत निम्तिन सक्छ। त्यसैले मनसुनको समयमा झाडापखाला र फुड पोइजनिङका कारण, लक्षण, खतरा जनाउने संकेत तथा बच्ने उपायबारे जानकारी हुनु अत्यन्त आवश्यक छ।
झाडापखाला भनेको के हो ?
दिनमा तीन वा सोभन्दा बढी पटक पातलो दिसा हुनु वा सामान्यभन्दा धेरै पटक दिसा हुनु झाडापखाला हो। यो प्रायः भाइरस, ब्याक्टेरिया वा परजीवीको संक्रमणका कारण हुन्छ। झाडापखालाको सबैभन्दा ठूलो जोखिम शरीरमा पानी र लवणको कमी (डिहाइड्रेसन) हुनु हो। झाडापखाला दूषित खाना खाएको १० देखि १२ घण्टा पछिबाट सुरु हुन्छ ।
फुड पोइजनिङ भनेको के हो ?
दूषित खाना वा पेय पदार्थमा रहेका ब्याक्टेरिया, भाइरस, परजीवी वा तिनले उत्पादन गरेका विषाक्त पदार्थका कारण हुने स्वास्थ्य समस्यालाई फुड पोइजनिङ भनिन्छ। दूषित खाना खाएको केही घण्टादेखि केही दिनभित्र यसको लक्षण देखिन सक्छ।
मनसुनमा झाडापखाला र फुड पोइजनिङको जोखिम किन बढ्छ ?
झाडापखाला र फुड पोइजनिङ प्रायः एकै जस्तो देखिन्छ तर झाडापखाला खानामा भएको भाइरस ब्याक्टेरिया प्यारासाइट आदिले हानि गर्दा हुने गर्छ भने फुड पोइजनिङ ति ब्याक्टेरिया ,भाइरसहरुले खानामा निकालेको टक्सिनले गर्दा हुन्छ। दूषित पानी पिउनु, बासी वा बिग्रिएको खाना खानु, अधपाकेको मासु, अण्डा वा समुद्री खाना सेवन गर्नु, फलफूल तथा तरकारी राम्रोसँग नधोई खानु, व्यक्तिगत सरसफाइमा कमी हुनु र खुला स्थानमा बेचिने अस्वच्छ खाना खानु यसको मुख्य कारण हुन्।
देखिने प्रमुख लक्षण
झाडापखाला र फुड पोइजनिङका लक्षणहरू प्रायः समान हुन्छन्।
- बारम्बार पातलो दिसा हुनु
- वाकवाकी लाग्नु र बान्ता हुनु
- पेट दुख्नु वा मरोड हुनु
- ज्वरो आउनु
- कमजोरी तथा थकान महसुस हुनु
- शरीरमा पानीको कमी हुनु
खतरा जनाउने संकेत
दिसामा रगत देखिनु, लगातार बान्ता भएर पानीसमेत अडिन नसक्नु, उच्च ज्वरो आउनु, अत्यधिक तिर्खा लाग्नु, पिसाब कम हुनु, आँखा भासिनु, चक्कर लाग्नु वा बेहोस हुनु, धेरै कमजोरी महसुस हुनु तथा २४–४८ घण्टासम्म लक्षणमा सुधार नआउनु गम्भीर संकेत हुन्। यस्ता अवस्था देखिए तुरुन्त स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्छ।
कसरी सुरक्षित रहने ?
- उमालेको वा शुद्धीकरण गरिएको पानी मात्र पिउने,
- खाना खानुअघि र शौचालय प्रयोगपछि साबुनपानीले हात धुने,
- खाना राम्रोसँग पकाएर ताजा अवस्थामा खाने,
- बासी तथा खुला स्थानमा राखिएको खाना नखाने,
- फलफूल र तरकारी राम्रोसँग धोएर मात्र सेवन गर्ने,
- सलाद खाँदा मनतातो पानीले धोएर मात्र खाने,
- झाडापखाला भएमा प्रशस्त झोल पदार्थ र जीवनजल सेवन गर्ने।
घरमै के गर्ने ?
झाडापखाला सुरु हुनेबित्तिकै शरीरमा पानीको कमी हुन नदिन ध्यान दिनुपर्छ।
- जीवनजल (ORS) पटक–पटक पिउने
- उमालेको वा सुरक्षित पानी प्रशस्त पिउने
- झोलिलो तथा हल्का खाना खाने
- स्तनपान गरिरहेका शिशुलाई स्तनपान नरोक्ने
- चिकित्सकको सल्लाहलिने
झाडापखाला तथा फुड पोइजनिङ हुँदा शरीरबाट पानी र आवश्यक इलेक्ट्रोलाइट्स धेरै मात्रामा बाहिर निस्कन्छन्। यसले शरीरमा पानीको कमी, कमजोरी तथा अन्य जटिलता निम्त्याउन सक्छ। त्यसको लागि बिरामीले जीवनजल सेवन गर्नुपर्ने हुन्छ। जीवनजल सेवन गर्दा एक प्याकेट ज्ञ लिटर सुरक्षित वा उमालेर चिस्याएको पानीमा घोलेर मात्र प्रयोग गर्नुपर्छ। जीवनजलले शरीरमा पानीको मात्रा मात्र पूर्ति गर्दैन, सोडियम, पोटासियमजस्ता आवश्यक इलेक्ट्रोलाइट्सको कमी पनि पूरा गर्न मद्दत गर्छ र शरीरमा ऊर्जा लेउने गर्छ। त्यसैले बिरामीले चिकित्सकको सल्लाहअनुसार वा तिर्खा र पखालाको अवस्थाअनुसार पटक–पटक जीवनजल सेवन गर्नुपर्छ। एक पटक बनाएको जिवनजल २४ घण्टासम्म खान सकिन्छ ।
मनसुनमा झाडापखाला र फुड पोइजनिङको जोखिम बढे पनि सुरक्षित पानी, स्वच्छ खाना र व्यक्तिगत सरसफाइमा ध्यान दिएर अधिकांश संक्रमणबाट बच्न सकिन्छ। सामान्य लक्षणलाई बेवास्ता नगरी समयमै उपचार गरे जटिल अवस्था आउनबाट रोक्न सकिन्छ।