काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न उपचार केन्द्र स्थापना गर्ने योजना शीघ्र कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई पनि थप सुदृढ बनाउन आवश्यक तयारी अघि बढाउन आग्रह गरे।
प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए। साथै अस्पतालको सरसफाइ, डिजिटल स्वास्थ्य सेवा, सुशासन र विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।
सरकारले यसअघि नै १०० दिने सुधार योजनाअन्तर्गत १४ संघीय र ४ प्रदेश अस्पतालमा बर्न सेवा विस्तार गरिसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बर्न उपचारका लागि स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइएको छ भने विद्यमान अस्पतालभित्रै बर्न युनिट विस्तार गर्ने नीति अघि बढाइएको छ।