काठमाडौं । मनसुनको समयमा बढ्ने संक्रामक रोगको जोखिम न्यूनीकरण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशव्यापी ‘मनसुनजन्य रोग प्रतिकार्य अभियान’ सञ्चालन गर्ने भएको छ। अभियान संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सञ्चालन गरिने जनाइएको छ।
मन्त्रालयका अनुसार वर्षायाममा विशेषगरी डेङ्गी, हैजा, झाडापखाला, स्क्रब टाइफस, जापानी इन्सेफ्लाइटिस, औलो तथा इन्फ्लुएन्जाजस्ता रोगको जोखिम बढ्ने भएकाले समयमै रोकथाम, निगरानी र द्रुत प्रतिकार्यलाई प्राथमिकता दिइएको हो। जोखिम बढी भएका जिल्लामा रोगको अवस्थाबारे नियमित अनुगमन, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा। अनुज भट्टचनले मनसुनजन्य रोग नियन्त्रणका लागि सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै सम्भावित प्रकोपलाई समयमै नियन्त्रण गर्न द्रुत प्रतिकार्य प्रणाली सक्रिय बनाइने जानकारी दिए। उनका अनुसार रोग देखिएपछि मात्र उपचारमा केन्द्रित हुनेभन्दा संक्रमण फैलिन नदिन पूर्वतयारी र रोकथामका उपाय प्रभावकारी हुने भएकाले अभियानलाई व्यवहारमा उतार्न जोड दिइएको छ।
यस्तै, स्वास्थ्य सेवा विभागको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानी तथा कीटजन्य रोगको जोखिम उच्च रहने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरे। उनका अनुसार मनसुन सुरु भएसँगै डेङ्गी संक्रमणका घटना बढ्न थालेका छन्।
यसैबीच राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सुरक्षित खानेपानीको प्रयोग, हात धुने बानी, घर–आँगन तथा वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्ने र कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुग्न सर्वसाधारणलाई आग्रह गरेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार असारदेखि असोजसम्म मनसुनजन्य रोगको जोखिम उच्च रहने भएकाले व्यक्तिगत सरसफाइ, वातावरणीय स्वच्छता र समुदायको सक्रिय सहभागिताले मात्र यस्ता रोगको प्रभाव घटाउन सकिन्छ। मन्त्रालयले सबै स्थानीय तहलाई रोगको निगरानी प्रणाली थप प्रभावकारी बनाउन तथा आवश्यक परे तत्काल प्रतिकार्य टोली परिचालन गर्न निर्देशनसमेत दिएको छ।