धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) को नवनियुक्त उपकुलपति प्रा.डा. स्मृती कार्कीले सोमबार पदभार ग्रहण गरेकी छन्। उनी प्रतिष्ठानको तीन दशकभन्दा लामो इतिहासमा उपकुलपति बन्ने पहिलो महिला हुन्।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति वालेन्द्र शाहको असार २४ गतेको निर्णयअनुसार प्रतिष्ठान ऐन, २०४९ बमोजिम डा. कार्की उपकुलपतिमा नियुक्त भएकी हुन्। यसअघि उनी प्रतिष्ठानको प्याथोलोजी विभाग प्रमुख तथा कार्यकारिणी समिति सदस्यका रूपमा कार्यरत थिइन्।
पदभार ग्रहणका क्रममा प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरूले उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। सरकारले यसअघि प्रतिष्ठानका तत्कालीन उपकुलपतिलगायत पदाधिकारीलाई पदमुक्त गरेपछि खुला प्रतिस्पर्धामार्फत नयाँ उपकुलपति छनोट प्रक्रिया अघि बढाएको थियो। बीपीकेआईएचएसका लागि १६ जनाले आवेदन दिएका थिए भने अन्तिम प्रतिस्पर्धामा परेका उम्मेदवारमध्ये डा। कार्की छनोट भएकी हुन्।
प्रतिष्ठानकै उत्पादन रहेकी डा. कार्कीले हाउस अफिसरबाट सेवा सुरु गर्दै प्राध्यापकसम्मको यात्रा तय गरेकी छन्। उनको नियुक्तिलाई प्रतिष्ठानमा सुशासन, सेवा सुधार र संस्थागत स्थायित्वलाई थप बल पुग्ने अपेक्षासँग जोडेर हेरिएको छ।