कञ्चनपुर । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा कञ्चनपुरमा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएका छन्।
स्वास्थ्य कार्यालयका अनुसार यस अवधिमा प्रदेशभर ७० जनामा डेङ्गु देखिएको छ, जसमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १० र डडेल्धुरामा आठ जना सङ्क्रमित छन्।
स्वास्थ्यकर्मीले डेङ्गु सार्ने एडिस लामखुट्टे सफा र जमेको पानीमा हुर्कने भएकाले घर वरपर पानी जम्न नदिन, गमला, टायर र पानी राख्ने भाँडा नियमित सफा गर्न तथा ज्वरो आए तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन्। कञ्चनपुरका सबै नौ पालिकामा डेङ्गु नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्न आवश्यक बजेटसमेत व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।