काठमाडौँ । नेपालमा बढ्दो नसर्ने रोगको जोखिम न्यूनीकरण तथा विपद्का समयमा बिरामीले निरन्तर स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न सरकार, स्वास्थ्य संस्था र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको औँल्याइएको छ।
नेपाल रेडक्रस सोसाइटीद्वारा आयोजित ‘विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताका लागि अत्यावश्यक प्रतिकार्य प्याकेज’ विषयक छलफलमा स्वास्थ्य सेवा विभागकी डा. पोमावती थापाले नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै विपद् जोखिम व्यवस्थापनसँग स्वास्थ्य सेवाको एकीकृत पहल अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले विपद्का बेला आवश्यक औषधि, स्वास्थ्य सामग्री, उपचार सेवा र नीतिगत समन्वय सुनिश्चित गर्दै समुदायस्तरमा नसर्ने रोग व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।