काठमाडौँ । नेपाल चिकित्सक सङ्घले देशभरका विभिन्न मेडिकल कलेजमा एमबीबीएस तथा बिडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले आफ्ना माग राख्दै थालेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्दै देशभर स्टाइपेन्ड (भत्ता) मा एकरूपता कायम गर्न सरकारसँग माग गरेको छ।
बुधबार अध्यक्ष डा। बद्री रिजाल र महासचिव डा। विश्वराज दवाडीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा इन्टर्न चिकित्सकहरू अत्यधिक कामको चाप र तनावका बीच अहोरात्र स्वास्थ्य सेवामा खटिँदै आए पनि उनीहरूले पाउने भत्ता तथा सेवा–सुविधामा ठूलो असमानता रहेको उल्लेख गरिएको छ। वैज्ञानिक आधारमा भत्ता निर्धारण नहुनु र मेडिकल कलेजअनुसार फरक–फरक सुविधा उपलब्ध गराइनु अन्यायपूर्ण भएको सङ्घको ठहर छ।
सङ्घका अनुसार न्यून सेवा–सुविधाले इन्टर्न चिकित्सकहरूको मनोबलमा नकारात्मक असर पार्नुका साथै स्वास्थ्य सेवाको गुणस्तरमा समेत प्रभाव पर्न सक्छ। त्यसैले इन्टर्न चिकित्सकलाई न्यूनतम सुविधा सुनिश्चित गर्दै भत्ता वैज्ञानिक र समान ढङ्गले वितरण गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल चिकित्सक सङ्घले इन्टर्न चिकित्सकको भत्तामा एकरूपता कायम गर्ने विषयमा नेपाल सरकारले यसअघि कार्यदल गठन गरी प्रतिवेदन तयार पारे पनि हालसम्म त्यसको औपचारिक निर्णय र कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि जनाएको छ।
सङ्घले इन्टर्न चिकित्सकहरूले उठाएका जायज माग अविलम्ब सम्बोधन गर्न, देशभर स्टाइपेन्डमा एकरूपता कायम गर्न तथा यस विषयमा गठित कार्यदलको प्रतिवेदन शीघ्र कार्यान्वयन गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।
