काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. भीमबहादुर चन्द नियुक्त भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार बसेको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रमका आधारमा उनीहरूको नियुक्ति गरेको हो।
सरकारले नवनियुक्त नेतृत्वको जिम्मेवारीसँगै गेटास्थित विश्वविद्यालयमा यसै वर्षदेखि एमबीबीएसलगायत स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रम सञ्चालन तथा अस्पताललाई शिक्षण अस्पतालका रूपमा पूर्ण रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरेको छ। केही दिनअघि मन्त्रिपरिषद्ले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णयसमेत गरिसकेको छ।
प्रा. डा. जोशी यसअघि पनि विश्वविद्यालयका संस्थापक उपकुलपति रहिसकेका छन्। उनी सार्वजनिक स्वास्थ्य तथा चिकित्सा शिक्षाका अनुभवी विज्ञ हुन् भने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापन र अनुसन्धानमा संलग्न रहेका छन्। यस्तै, अस्पताल व्यवस्थापनमा विद्यावारिधि गरेका डा. भीमबहादुर चन्द स्वास्थ्य प्रशासन तथा संस्थागत व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्।
गत वैशाखमा सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेपछि नेतृत्वविहीन बनेको विश्वविद्यालयमा नयाँ नेतृत्व आएपछि शैक्षिक, प्रशासनिक र स्वास्थ्य सेवा विस्तारका कामले गति लिने विश्वास गरिएको छ।