काठमाडौँ । सरकारी स्वास्थ्य संस्थामा कार्यरत २३ जना कर्मचारी लामो समयदेखि स्वीकृत बिदाबिना कार्यस्थलमा अनुपस्थित भेटिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उनीहरूविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ। प्रारम्भिक चरणमा मन्त्रालयले सम्बन्धित कर्मचारीसँग १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार ती कर्मचारी लगातार ६० दिनभन्दा बढी समयसम्म कार्यालयमा हाजिर नभएको अभिलेख देखिएको छ। यस्तो अवस्था नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले तोकेको कर्मचारी आचार र सेवासम्बन्धी व्यवस्थाविपरीत भएकाले कानुनी प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ।
स्पष्टीकरण माग गरिएकामध्ये विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा स्टाफ नर्स रहेका छन्। उनीहरू वीर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर र आयुर्वेद चिकित्सालय नरदेवीलगायतका सरकारी स्वास्थ्य संस्थामा कार्यरत छन्।
मन्त्रालयका अनुसार सूचना प्रकाशित भएको दिनदेखि १५ दिनभित्र अनुपस्थित हुनुको आधार र प्रमाणसहित सफाइ पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र विश्वसनीय कारणसहितको जवाफ प्राप्त नभए नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को व्यवस्थाअनुसार सेवाबाट हटाउनेसम्मको विभागीय निर्णय हुन सक्ने चेतावनी मन्त्रालयले दिएको छ।
सरकारी स्वास्थ्य सेवामा कर्मचारीको नियमित उपस्थितिलाई सेवाप्रवाहको आधार मान्दै मन्त्रालयले अनधिकृत अनुपस्थितिलाई गम्भीर अनुशासनहीनताका रूपमा लिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक स्वास्थ्य संस्थामा जिम्मेवारी निर्वाह गर्ने कर्मचारीले कानुनअनुसारको कार्यशैली अपनाउनुपर्ने र सेवा अनुशासनमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देशसमेत दिएको छ।
