काठमाडौँ । बैतडीमा पाँच वर्षमुनिका बालबालिकामा कडा कुपोषणको समस्या चिन्ताजनक देखिएको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार हालै सम्पन्न पोषण लेखाजोखा अभियानमा ६ महिनादेखि पाँच वर्षमुनिका ११३ जना बालबालिकामा कडा शीघ्र कुपोषण र ५१६ जनामा मध्यम शीघ्र कुपोषण भेटिएको हो।
जिल्लाभरका १० हजार १०३ जना बालबालिकाको पाखुराको नाप, उचाइ र तौल परीक्षण गरेर पोषण अवस्था मूल्याङ्कन गरिएको थियो। परीक्षणका क्रममा पाखुराको नाप ११५ मिलिमिटरभन्दा कम भएका बालबालिकालाई कडा शीघ्र कुपोषण र ११५ देखि १२५ मिलिमिटरभन्दा कम भएका बालबालिकालाई मध्यम शीघ्र कुपोषणको सूचीमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार कडा कुपोषण भएका बालबालिकाको ओटीसी (Outpatient Therapeutic Care) केन्द्रमार्फत उपचार गरिनेछ भने मध्यम कुपोषण भएका बालबालिकाको पोषण सुधारका लागि परिवारलाई सन्तुलित र पोषिलो खानपानमा विशेष ध्यान दिन आग्रह गरिएको छ। स्वास्थ्यकर्मीहरूले समयमै पहिचान र उचित पोषण व्यवस्थापन गर्न सके बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न सकिने बताएका छन्।