काठमाडौँ । मनसुन सुरु भएसँगै नेपालमा जापनिज इन्सेफ्लाइटिस (जेई) को जोखिम बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष हालसम्म एक जनाको मृत्यु भइसकेको छ भने तीन जनामा सङ्क्रमण पुष्टि भएको छ। मनसुनको समयमा क्युलेक्स जातका लामखुट्टे बढ्ने भएकाले आगामी दिनमा थप सङ्क्रमण देखिन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
यता कञ्चनपुरमा चार वर्षदेखि पुष्टि भएका बिरामी नदेखिए पनि गत वर्ष जेईसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी फेला परेपछि स्वास्थ्य कार्यालयले निगरानी र जनचेतना अभियानलाई तीव्र बनाएको छ। यस वर्ष भने हालसम्म जिल्लामा पुष्टि भएको बिरामी भेटिएको छैन।
स्वास्थ्य विज्ञहरूले धानखेत, पानी जम्ने क्षेत्र तथा सुँगुर र हाँसपालन हुने स्थान आसपास बस्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। झुल प्रयोग गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, घर वरिपरि पानी जम्न नदिने र ज्वरोसँगै टाउको दुख्ने, बेहोस हुने वा स्नायु प्रणालीसम्बन्धी असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्न सुझाव दिइएको छ। हाल सरकारले उच्च जोखिम भएका ११ जिल्लामा जापनिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको छ।