काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूले स्वास्थ्य सेवा पहुँच, हर्मोन थेरापी, लिङ्ग परिवर्तनसम्बन्धी स्वास्थ्य सेवा र समुदायमैत्री उपचार प्रणालीबारे छलफल गरेका छन्।
भेटका क्रममा समुदायका प्रतिनिधिहरूले स्वास्थ्य संस्थामा हुने विभेद अन्त्य गर्दै सम्मानजनक र समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक नीति, निर्देशिका तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा जोड दिएका थिए।
मन्त्री मेहताले सबै नागरिकलाई समान र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक नीतिगत तथा प्राविधिक पहल अघि बढाइने बताए।
भेटमा मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिहरूसहित संस्थापक सुनीलबाबु पन्तको सहभागिता रहेको थियो। छलफलमा समुदायमैत्री स्वास्थ्य सेवा विस्तार, मानसिक स्वास्थ्य सेवा तथा यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच बढाउने विषयमा समेत जोड दिइएको थियो।