काठमाडौँ । डेङ्गु संक्रमणको जोखिम बढ्न थालेसँगै सरकारले शुक्रबारदेखि देशव्यापी तीन महिने डेङ्गु सचेतना अभियान सुरु गरेको छ। अभियानअन्तर्गत स्थानीय तह, विद्यालय, सरकारी कार्यालय र समुदायको सहभागितामा हरेक शुक्रबार ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरी लामखुट्टेको प्रजननस्थल खोज्ने र नष्ट गर्ने काम गरिनेछ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार साउन, भदौ र असोज महिनाभर पानी जम्ने स्थान, अटो ग्यारेज, कवाडी संकलन स्थल, निर्माणाधीन भवन तथा सार्वजनिक क्षेत्रको नियमित अनुगमन गरिनेछ। विद्यालयमार्फत ‘साथी शिक्षा कार्यक्रम’ र सरसफाइ अभियान सञ्चालन गरी विद्यार्थीलाई पनि डेङ्गु रोकथाममा सहभागी गराइने योजना छ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मनसुनसँगै डेङ्गुको जोखिम बढ्ने भएकाले घर तथा कार्यस्थल वरिपरि पानी जम्न नदिन, पानी राख्ने भाँडा ढाकेर राख्न, लामखुट्टेको टोकाइबाट बच्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ। यसअघि नै देशका जोखिमयुक्त स्थानीय तहलाई ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी बनाउन निर्देशन दिइएको थियो।
स्वास्थ्य अधिकारीहरूका अनुसार डेङ्गु नियन्त्रणमा सरकारी प्रयास मात्र पर्याप्त हुँदैन। समुदायको सक्रिय सहभागिता, नियमित सरसफाइ र घर–घरबाट लामखुट्टेको प्रजननस्थल हटाउने अभ्यासले संक्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।