काठमाडौँ । अस्पतालमा निरन्तर बिरामीको उपचारमा खटिने प्रशिक्षार्थी चिकित्सकहरू शनिबार आफ्नै श्रम अधिकारको माग गर्दै माइतीघर मण्डलामा उत्रिएका छन्। विभिन्न अस्पतालमा कार्यरत इन्टर्न चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले अत्यधिक कार्यबोझ, पर्याप्त विश्रामको अभाव र कानुनअनुसारका सेवा–सुविधा नपाएको गुनासो गर्दै विरोध प्रदर्शन गरेका हुन्।
युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर कायम राख्न चिकित्सकको कार्य वातावरण पनि सुरक्षित र व्यवस्थित हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार लगातार लामो समयसम्म विश्रामविना काम गर्दा चिकित्सकको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्नुका साथै उपचार प्रक्रियामा पनि जोखिम बढ्न सक्छ।
प्रदर्शनकारीले नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी ड्युटी नगराउन, हरेक सातामा एक दिन अनिवार्य बिदा सुनिश्चित गर्न तथा ४८ घण्टाभन्दा बढी काम गराएमा कानुनअनुसार ओभरटाइम भत्ता उपलब्ध गराउन माग गरेका छन्।
उनीहरूले नेपाल सरकारले बजेटमार्फत घोषणा गरेको तलब वृद्धिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको पारिश्रमिक तत्काल कार्यान्वयन गर्नुपर्ने माग पनि दोहोर्याएका छन्। साथै एमबीबीएस तथा बीडीएस पूरा गरेपछि एमडी, एमएस र एमडीएस अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षे कार्यअनुभवको व्यवस्था पुनरावलोकन गरी हटाउनुपर्ने उनीहरूको भनाइ छ।
प्रदर्शनमा सहभागी चिकित्सकहरूले प्रशिक्षार्थी चिकित्सकलाई सिकाइको अवसरसँगै श्रमिकको रूपमा पनि कानुनी अधिकार प्राप्त हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार सेवा, सिकाइ र श्रम अधिकारबीच सन्तुलन कायम नभएसम्म युवा चिकित्सकको मनोबल कमजोर हुने र त्यसको असर अन्ततः स्वास्थ्य सेवामै देखिनेछ।
संघर्ष समितिले आफ्ना मागप्रति सम्बन्धित निकायले शीघ्र निर्णय नगरे थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ। उनीहरूले चिकित्सकको श्रम अधिकार सुनिश्चित गर्नु केवल कर्मचारीको सुविधा नभई सुरक्षित, गुणस्तरीय र जिम्मेवार स्वास्थ्य सेवाको आधार भएको उल्लेख गरेका छन्।