नेपालगन्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा रहेको लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन करिब तीन महिनादेखि बन्द हुँदा रेडियोथेरापी सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। यसको प्रत्यक्ष असर पश्चिम नेपाल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका क्यान्सर बिरामीमा परेको छ।
अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए। सेवा बन्द भएपछि धेरै बिरामी उपचारका लागि भारतका बहराइच, लखनउ र दिल्लीलगायतका अस्पताल जान बाध्य भएका छन्।
अस्पताल प्रशासनका अनुसार मेसिन आपूर्ति गर्ने कम्पनीले बाँकी भुक्तानी नपाएको भन्दै मर्मतका लागि प्राविधिक नपठाएपछि सेवा पुनः सञ्चालन हुन सकेको छैन। खरिद सम्झौतामा उल्लेखित एचएस कोड र कन्ट्री अफ ओरिजिनसम्बन्धी विवादका कारण भुक्तानी रोकिएको अस्पतालको भनाइ छ।
अस्पतालले समस्या समाधानका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग आवश्यक पहल गरिरहेको जनाएको छ। यद्यपि सेवा कहिलेदेखि पुनः सञ्चालन हुन्छ भन्नेबारे अझै निश्चित हुन सकेको छैन।