काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद उपचार, पञ्चकर्म र योग सेवाको नमुना संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
शनिबार केन्द्रको अनुगमन गर्दै मन्त्री मेहताले सेवा प्रवाह, पूर्वाधार र भावी योजनाबारे जानकारी लिँदै आयुर्वेदिक सेवाको गुणस्तर सुधारसँगै नागरिकसम्म यसको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन्। उनले केन्द्रमा उपलब्ध सेवा र उपचार पद्धतिबारे प्रभावकारी जनचेतना तथा प्रचारप्रसार आवश्यक रहेको उल्लेख गरिन्।
मन्त्री मेहताले नेपालमा पाइने हर्रो, बर्रो, बोजोलगायत औषधीय जडीबुटीको संरक्षण, उत्पादन र वैज्ञानिक उपयोगलाई प्राथमिकता दिनुपर्ने बताउँदै यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाइन्। उनका अनुसार आयुर्वेदलाई रोग उपचारमा मात्र सीमित नराखी स्वस्थ जीवनशैली प्रवर्द्धन र रोगको रोकथामसँग जोडेर अघि बढाउन आवश्यक छ।
राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्र नेपालमा आयुर्वेद तथा योग सेवाको प्रवर्द्धनका लागि स्थापना गरिएको प्रमुख सरकारी संस्थामध्ये एक हो। सरकारले यसलाई क्रमशः सेवा, अनुसन्धान र स्वास्थ्य प्रवर्द्धनको केन्द्रका रूपमा सुदृढ बनाउने लक्ष्य लिएको छ।