काठमाडौँ । बालबालिकाको समग्र स्वास्थ्य जाँच र रोगको प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्ने उद्देश्यले मार्क किडनी हस्पिटलले श्रावण महिनाभर सञ्चालन हुने निःशुल्क बाल रोग तथा बाल मिर्गौला रोग परामर्श शिविर सुरु गरेको छ।
अस्पतालका अनुसार शिविरमा बाल रोग विशेषज्ञ तथा बाल मिर्गौला रोग विशेषज्ञ डा. मन्दिरा श्रेष्ठले सेवा प्रदान गर्नेछिन्। सामान्य बाल रोगदेखि बालबालिकामा देखिने मिर्गौला तथा मूत्रप्रणालीसम्बन्धी समस्यासम्मको विशेषज्ञ परामर्श उपलब्ध गराइने अस्पतालले जनाएको छ।
शिविरअन्तर्गत बाल रोगसम्बन्धी सम्पुर्ण स्वास्थ्य परामर्श, बाल मिर्गौला तथा मूत्रप्रणालीसम्बन्धी समस्या मूल्याङ्कन तथा निःशुल्क युरिन डिपस्टिक (पिसाब) परीक्षणको व्यवस्था गरिएको छ।
अस्पतालका अनुसार बालबालिकामा देखिने धेरै स्वास्थ्य समस्या प्रारम्भिक अवस्थामै पहिचान र उपचार गर्न सके दीर्घकालीन जटिलता रोक्न सकिन्छ। विशेषगरी बारम्बार ज्वरो आउने, पिसाबसम्बन्धी समस्या देखिने, शरीर सुन्निने, तौल र उचाइको वृद्धि अपेक्षाअनुसार नहुनेलगायत लक्षण देखिएमा विशेषज्ञसँग परामर्श लिनुपर्ने सुझाव दिइएको छ।
श्रावण महिनाभर सञ्चालन हुने यो निःशुल्क शिविर काठमाडौंको लाजिम्पाटस्थित मार्क किडनी हस्पिटलमा आयोजना गरिएको अस्पतालले जनाएको छ।