काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न आवश्यक स्वास्थ्य परीक्षणलाई थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्ने प्रक्रिया अघि बढाएको छ। विभागले सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयलाई नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन अनुरोध गरेको हो।
विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईद्वारा गत असार ३२ गते जारी परिपत्रमा हालको व्यवस्थाका कारण सेवाग्राहीले अनावश्यक भीडभाड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिण्डिकेटजस्ता समस्या भोग्नुपरेको उल्लेख गरिएको छ। मन्त्रीस्तरीय निर्णयअनुसार अब नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका कुनै पनि इजाजतप्राप्त चिकित्सकबाट गरिएको स्वास्थ्य परीक्षणलाई मान्यता दिने व्यवस्था गर्न प्रदेशहरूलाई अनुरोध गरिएको विभागले जनाएको छ।
यसैबीच विभागले साउन १ गते नेपाल मेडिकल काउन्सिललाई पत्राचार गर्दै काउन्सिलमा दर्ता भएका चिकित्सकहरूको अद्यावधिक विवरण उपलब्ध गराउन पनि आग्रह गरेको छ। प्राप्त विवरणका आधारमा योग्य चिकित्सकहरूको सूची तयार गरी देशभर एकरूप रूपमा व्यवस्था कार्यान्वयन गर्ने तयारी गरिएको छ।
नयाँ व्यवस्थाले स्वास्थ्य परीक्षणका लागि सीमित केन्द्र वा चिकित्सकमा निर्भर रहनुपर्ने बाध्यता हट्ने, सेवाग्राहीले आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन सक्ने तथा समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको विभागको भनाइ छ। साथै, काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्रै स्वास्थ्य परीक्षण हुने भएकाले सेवाको विश्वसनीयता, पारदर्शिता र उत्तरदायित्वसमेत थप सुदृढ हुने विश्वास गरिएको छ।