काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को कार्यकारी निर्देशकमा प्रा.डा. जितेन्द्र परियार नियुक्त भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका प्रा।डा। परियारलाई अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय भएको जनाएको हो।
मन्त्रालयका अनुसार अस्पतालमा रिक्त रहेको कार्यकारी निर्देशक पदपूर्तिका लागि गत असार ५ गते आवेदन आह्वान गरिएको थियो। आवेदन दिएका उम्मेदवारहरूको सिफारिस समितिले साउन ३ गते गरेको मूल्याङ्कन तथा सिफारिस र अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयका आधारमा प्रा.डा. परियारलाई उक्त जिम्मेवारी दिइएको हो।
मन्त्रालयद्वारा जारी सूचनामा सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा राखेर सिफारिस गरेका प्रा.डा. परियारलाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको उल्लेख छ। प्रा.डा. परियार अस्पतालका वरिष्ठ स्त्रीरोग तथा प्रसूति रोग विशेषज्ञ हुन्। उनको नियुक्तिसँगै अस्पतालको प्रशासनिक तथा स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।