भरतपुर । भरतपुर अस्पतालमा बिरामीको चाप लगातार बढ्दै गएको छ। सोमबार मात्रै एकै दिन ३ हजार ३६८ जनाले अस्पतालबाट सेवा लिएका छन्, जसमध्ये करिब ७० प्रतिशत स्वास्थ्य बिमा अन्तर्गतका बिरामी रहेका छन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। विश्वबन्धु बगालेका अनुसार बिरामीको अत्यधिक चापका कारण गुणस्तरीय सेवा विस्तारभन्दा भीड व्यवस्थापनमै बढी ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको छ। चितवनसहित २२ जिल्लाका बिरामी उपचारका लागि आउने र अन्य अस्पतालमा बिमा सेवा प्रभावित भएपछि भरतपुर अस्पतालमा सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको उनले बताए।
बढ्दो चाप व्यवस्थापन गर्न भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका तथा बकुलहर अस्पतालसँग सहकार्य गरी सामान्य स्वास्थ्य सेवा स्थानीय तहबाटै उपलब्ध गराउने तयारी भइरहेको अस्पतालले जनाएको छ। यसबाट भरतपुर अस्पताललाई विशिष्टीकृत उपचार सेवामा केन्द्रित गर्न सहज हुने विश्वास गरिएको छ।