नयाँ दिल्ली । भारतले डेङ्गु नियन्त्रणमा ऐतिहासिक कदम चाल्दै देशमै पहिलोपटक डेङ्गुविरुद्धको खोप ‘क्युडेङ्गा (QDENGA)’ प्रयोगका लागि अनुमति दिएको छ। जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको यो खोपलाई भारतको केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठन ९सीडीएससीओ० ले ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको हो।
स्वास्थ्य अधिकारीहरूका अनुसार यो खोपले डेङ्गु भाइरसका चारै प्रकार (DENV-1, DENV-2, DENV-3 र DENV-4) विरुद्ध सुरक्षा प्रदान गर्छ। खोप दुई मात्रा (डोज|) मा दिइनेछ, जसमा दोस्रो मात्रा पहिलो डोज लगाएको तीन महिनापछि लगाइने व्यवस्था छ। यस खोपको अर्को विशेषता भनेको खोप लगाउनुअघि डेङ्गु भएको वा नभएको परीक्षण अनिवार्य नहुनु हो।
टाकेडाले भारतमा खोपको उत्पादन र आपूर्ति विस्तारका लागि भारतीय कम्पनी बायोलोजिकल ईसँग सहकार्य गरिरहेको जनाएको छ। कम्पनीका अनुसार क्युडेङ्गा युरोपेली सङ्घ, बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसियालगायत ४२ भन्दा बढी देशमा स्वीकृत भइसकेको छ र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को पूर्वयोग्यता पनि प्राप्त गरेको छ।
डेङ्गुका बढ्दो सङ्क्रमणबीच आएको यो स्वीकृतिलाई भारतको सार्वजनिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यद्यपि विज्ञहरूले खोपसँगै लामखुट्टेको टोकाइबाट जोगिने उपाय, पानी जम्न नदिने र सरसफाइलाई निरन्तर प्राथमिकता दिनुपर्ने बताएका छन्। सोरस : the time of india