सुर्खेत। कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतीका रूपमा देखिन थालेपछि सरकारी तथा गैरसरकारी निकायहरूले समुदायस्तरमा सचेतना अभियानलाई तीव्र बनाएका छन्। साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभियान सञ्चालन गरिरहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले मानसिक स्वास्थ्यलाई सामान्य स्वास्थ्यसरह प्राथमिकता दिन सबैलाई आग्रह गरेको छ।
मङ्गलबार आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्य समस्यालाई लुकाउने वा बेवास्ता गर्ने प्रवृत्तिले परिवार र समाजमा गम्भीर असर पार्ने बताउँदै समयमै पहिचान, परामर्श र उपचार आवश्यक रहेको बताए।
उनका अनुसार तनाव, चिन्ता, डिप्रेसन, पारिवारिक द्वन्द्व, आर्थिक दबाब तथा सामाजिक एक्लोपनका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ। यस्ता समस्यालाई कमजोरीका रूपमा नभई उपचार गर्न सकिने स्वास्थ्य अवस्थाका रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए।
सिएमसी–नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले मानसिक स्वास्थ्य संरक्षणका लागि सकारात्मक सोच, आत्मसम्मान र जीवनका चुनौतीसँग सामना गर्ने क्षमता विकास गर्नुपर्ने बताए। मानसिक समस्या देखिएका व्यक्तिलाई दोषारोपण नगरी सहयोग गर्न र आवश्यक परे आत्महत्या रोकथाम राष्ट्रिय हटलाइन ११६६ मा सम्पर्क गर्न उनले आग्रह गरे। साथै विद्यालय, समुदाय र स्थानीय तहमा मानसिक स्वास्थ्यसम्बन्धी नियमित सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए।
कर्णाली प्रदेश सरकारले पनि पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र समुदायलाई लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रदेशका विभिन्न स्थानीय तहमा मानसिक स्वास्थ्यसम्बन्धी बजेट विनियोजन, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि तथा परामर्श सेवाको पहुँच विस्तार गर्ने काम भइरहेको छ।
त्यसैगरी, हालै नेपाल सरकार र संयुक्त राष्ट्रसंघले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सेवाको पहुँच विस्तार गर्न नयाँ संयुक्त कार्यक्रम सुरु गरेका छन्। उक्त कार्यक्रममार्फत कर्णालीसहित मधेश र लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवा सुदृढ, स्वास्थ्यकर्मी प्रशिक्षण तथा समुदायस्तरीय परामर्श सेवा विस्तार गरिने लक्ष्य राखिएको छ।
यसैबीच, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले वर्षायाममा डेङ्गु संक्रमणको जोखिम पनि बढ्ने भएकाले घरआँगन सफा राख्न, पानी जम्न नदिन तथा लामखुट्टेको बासस्थान नष्ट गर्न सर्वसाधारणलाई आग्रह गरे।
महिला स्वास्थ्य सन्देशस् मानसिक स्वास्थ्य समस्या लुकाउने विषय होइन। लगातार निराशा, अत्यधिक तनाव, निद्रामा समस्या, जीवनप्रति निराशा वा आत्महत्याको सोच जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा परामर्श लिनु वा राष्ट्रिय हटलाइन ११६६ मा सम्पर्क गर्नु जीवन बचाउने महत्वपूर्ण कदम हुन सक्छ।