चितवन। नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल तथा मातहतका अस्पताल र उपचार केन्द्रबाट आर्थिक वर्ष २०८२/०८३ मा ३ लाख ८१ हजार २६ जनाले आँखा स्वास्थ्य सेवा लिएका छन्।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशत बढी हो। गत वर्ष ११ हजार ६३९ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने विद्यालय केन्द्रित शिविरमार्फत ४६ हजार ८५ विद्यार्थीको आँखा परीक्षण गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढी वृद्धि हो।
नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठले भरतपुर आँखा अस्पतालले प्रदान गर्दै आएको विशिष्टीकृत र गुणस्तरीय सेवाका कारण बिरामीको आकर्षण निरन्तर बढिरहेको बताए। हाल अस्पतालको मातहतमा कावासोती, ठोरी, चोरमारा, ईश्वरपुर लगायतका स्थानमा सेवा सञ्चालनमा रहेको छ भने सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा नयाँ आँखा उपचार केन्द्र विस्तार गर्ने तयारी भइरहेको छ।