काठमाडौँ। शिशुको स्वस्थ वृद्धि–विकास र अभिभावकमा बाल स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले साउन १४ गते ६१औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना गर्ने भएको छ। अस्पतालमै जन्मिएका एक वर्षमुनिका शिशुहरू प्रतिस्पर्धामा सहभागी हुनेछन्।
अस्पतालका अनुसार प्रतिस्पर्धामा सहभागी शिशुलाई जन्मदेखि ४५ दिन, ४६ दिनदेखि ६ महिना र ६ महिना १ दिनदेखि एक वर्षसम्मका तीन उमेर समूहमा विभाजन गरी मूल्याङ्कन गरिनेछ। शिशुको तौल, उचाइ, उमेरअनुसारको शारीरिक तथा मानसिक विकास, पोषण अवस्था, सरसफाइ र समग्र स्वास्थ्य अवस्थाका आधारमा उत्कृष्ट शिशु छनोट हुनेछ।
अस्पतालले यो कार्यक्रमलाई प्रतियोगिताभन्दा पनि बाल स्वास्थ्य प्रवर्द्धन अभियान का रूपमा लिएको जनाएको छ। नियमित स्वास्थ्य परीक्षण, सन्तुलित पोषण, समयमै खोप र अभिभावकको उचित हेरचाहले शिशुको स्वस्थ विकासमा महत्वपूर्ण भूमिका खेल्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिनेछ।
छनोट भएका उत्कृष्ट शिशुहरूलाई अस्पतालको वार्षिकोत्सव समारोहमा सम्मान गरिनेछ। अस्पतालले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै अभिभावकलाई शिशुको वृद्धि–विकासमा नियमित निगरानी राख्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दै आएको छ।
स्वस्थ शिशुको आधार गर्भावस्थादेखिको सुरक्षित मातृस्वास्थ्य, पर्याप्त पोषण, नियमित स्वास्थ्य परीक्षण र समयमै खोप हो। त्यसैले यस्ता कार्यक्रम पुरस्कार वितरणमा मात्र सीमित नभई अभिभावकमा बाल स्वास्थ्यप्रति सचेतना बढाउने प्रभावकारी माध्यमका रूपमा पनि महत्वपूर्ण मानिन्छ।
