चितवन। पर्साको ठोरीमा सञ्चालित भरतपुर आँखा अस्पताल सीमावर्ती भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बन्दै गएको छ। अस्पतालका अनुसार उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भारतका विभिन्न सीमावर्ती क्षेत्रका हुन्।
कम खर्चमा विशेषज्ञ सेवा, सहज पहुँच र छोटो प्रतीक्षाका कारण भारतीय बिरामीले नेपाल रोज्ने क्रम बढ्दै गएको अस्पतालले जनाएको छ। विशेषगरी मोतियाबिन्दुलगायत आँखासम्बन्धी शल्यक्रियाका लागि भारतबाट बिरामी आउने गरेका छन्।
अस्पतालले सीमावर्ती नेपाली समुदायसँगै भारतीय बिरामीलाई पनि समान रूपमा सेवा दिँदै आएको जनाएको छ। स्वास्थ्य सेवा सीमाभन्दा माथि हुने सन्देश दिँदै ठोरी आँखा अस्पताल नेपाल–भारतबीच स्वास्थ्य सहकार्यको उदाहरणका रूपमा स्थापित हुँदै गएको अस्पतालको विश्वास छ।