झापा। झापामा जापानीज इन्सेफ्लाइटिस (जेई) बाट एक महिलाको मृत्यु भएको छ। हल्दिबारी–२ निवासी प्रमिला राजवंशीको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
अचानक उच्च ज्वरो र स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। परीक्षणका क्रममा जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको थियो।
स्वास्थ्यकर्मीका अनुसार जेई संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। वर्षायाममा यसको जोखिम बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विशेषज्ञहरूका अनुसार उच्च ज्वरो, टाउको अत्यधिक दुख्ने, बान्ता हुने, बेहोस हुने वा शरीरमा झट्का आउनेजस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा पुग्नुपर्छ। समयमै उपचार नपाउँदा यसले मस्तिष्कमा गम्भीर असर पार्न सक्ने र ज्यानसमेत जान सक्ने जोखिम हुन्छ। वर्षायाममा घर वरपर पानी जम्न नदिनुहोस्, झुल प्रयोग गर्नुहोस्, लामो बाहुला भएका कपडा लगाउनुहोस् र बालबालिका तथा वृद्धवृद्धाको विशेष सुरक्षा गर्नु ।