अछाम । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले थालेको देशव्यापी आन्दोलनको प्रभाव अछामको बयालपाटा प्रादेशिक अस्पतालमा पनि परेको छ। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अस्पतालले मंगलबार बहिरङ्ग (ओपीडी) सेवा स्थगित गरेको छ।
अस्पताल प्रशासनका अनुसार आन्दोलनका कारण नियमित ओपीडी सेवा बन्द गरिएको भए पनि आकस्मिक ९इमर्जेन्सी०, प्रसूति सेवा, भर्ना भएका बिरामीको उपचार तथा अन्य जीवनरक्षक स्वास्थ्य सेवा भने यथावत् सञ्चालनमा रहेका छन्। अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा नरोक्ने प्रतिबद्धता अस्पतालले जनाएको छ।
नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाभित्रै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनाले उपचार सेवा नै असुरक्षित बन्दै गएको भन्दै सुरक्षित कार्य वातावरणको मागसहित आन्दोलन सुरु गरेको हो। संघले दोषीमाथि कानुनी कारबाही, स्वास्थ्य संस्थामा प्रभावकारी सुरक्षा व्यवस्था र स्वास्थ्यकर्मीमाथिको हिंसा रोक्न सरकारसँग माग गरेको छ।
ओपीडी सेवा बन्द हुँदा नियमित जाँच तथा परामर्शका लागि आउने सेवाग्राही प्रभावित भएका छन्। अस्पतालले अत्यावश्यकबाहेकका सेवा लिन आउने बिरामीलाई अर्को सूचना नआएसम्म अस्पताल नआउन अनुरोध गर्दै परेको असुविधाप्रति क्षमायाचना गरेको छ।
स्वास्थ्यकर्मीमाथिको हिंसाले चिकित्सक मात्र होइन, उपचारको प्रतीक्षामा रहेका बिरामीलाई पनि प्रत्यक्ष असर पार्ने भएकाले सुरक्षित उपचार वातावरण सुनिश्चित गर्नु स्वास्थ्य प्रणालीको साझा जिम्मेवारी भएको सरोकारवालाले बताएका छन्।