चितवन । नारायणी अस्पताल वीरगञ्जमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले थालेको देशव्यापी आन्दोलनको प्रभाव चितवनमा पनि परेको छ। आन्दोलनअन्तर्गत मंगलबार भरतपुर अस्पतालसहित जिल्लाका प्रमुख स्वास्थ्य संस्थाहरूमा बहिरङ्ग (ओपीडी) सेवा बन्द हुँदा ११ हजारभन्दा बढी बिरामी उपचार सेवाबाट प्रभावित भएका छन्।
भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका दुई मेडिकल कलेज तथा २३ वटा निजी अस्पतालले आकस्मिक सेवाबाहेक ओपीडी सेवा स्थगित गरेका हुन्। आकस्मिक, भर्ना भएका बिरामी र जीवनरक्षक सेवा भने नियमित रूपमा सञ्चालन गरिएको अस्पतालहरूले जनाएका छन्।
नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको विरोध गर्दै सुरक्षित कार्य वातावरण, दोषीमाथि कानुनी कारबाही र स्वास्थ्य संस्थामा प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न माग गरेको छ।
यता नियमित जाँच र औषधिका लागि अस्पताल पुगेका धेरै बिरामी उपचार नपाएर फर्किन बाध्य भएका छन्। चिकित्सकहरूको आन्दोलनले स्वास्थ्यकर्मीको सुरक्षासँगै बिरामीको उपचार सेवा पनि प्रभावित भएको भन्दै सरोकारवालाले दुवै पक्षको हित हुने गरी छिटो समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।