चितवन । भरतपुर अस्पतालले गत आर्थिक वर्षमा ४९१ जना सर्पदंशका बिरामीको उपचार गरेको छ। अस्पतालका अनुसार समयमै उपचारका लागि अस्पताल पुग्ने बिरामीको मृत्युदर अहिले लगभग शून्य मा झरेको छ।
चिकित्सकका अनुसार वर्षायाममा, विशेषगरी साउन–भदौमा, सर्पदंशका घटना बढी हुने गर्छन्। विषालु सर्पले टोकेपछि पेट दुख्ने, आँखाको परेला झर्ने, हातखुट्टा कमजोर हुने, वान्ता हुने वा बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन्।
सर्पले टोकेमा दौडधुप नगरी प्रभावित अंगलाई सकेसम्म स्थिर राख्ने र तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न चिकित्सकले आग्रह गरेका छन्। समयमै उपचार पाए सर्पदंशबाट हुने अधिकांश मृत्यु रोक्न सकिने उनीहरूको भनाइ छ।