काठमाडौँ । नेपालमा वेलनेस तथा स्पा सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। ट्रान्क्विलिटी स्पाले नेपालमै पहिलो पटक आईएसओ ९००१:२०१५ (Quality Management System) प्रमाणिकरण प्राप्त गरेको जनाएको छ। यससँगै स्पाले गुणस्तरीय सेवा, सुरक्षित कार्यप्रणाली, पारदर्शी व्यवस्थापन र निरन्तर सेवा सुधारप्रतिको आफ्नो प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको जनाएको छ।
स्पाले जारी गरेको विज्ञप्तिअनुसार आईएसओ प्रमाणिकरण केवल एउटा सम्मान मात्र नभई ग्राहकलाई विश्वसनीय, सुरक्षित र एकरूप सेवा प्रदान गर्ने संस्थागत प्रणालीको प्रमाण हो। यसका लागि देशभर सञ्चालनमा रहेका स्पाका सबै शाखामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रणाली लागू गरिएको छ, जसबाट ग्राहकले जहाँ सेवा लिए पनि समान गुणस्तरको अनुभव प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।
संस्थाका अनुसार सेवा सुधारका लागि ग्राहकका सुझावलाई प्राथमिकता दिने, उच्चस्तरीय सरसफाइ कायम गर्ने, संक्रमण नियन्त्रणका मापदण्ड पालना गर्ने, सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने तथा दक्ष र व्यावसायिक जनशक्तिमार्फत सेवा प्रवाह गर्ने व्यवस्थालाई अझ सुदृढ बनाइएको छ। यसले ग्राहकको विश्वास बढाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
ट्रान्क्विलिटी स्पाले प्रमाणिकरणपछि सञ्चालन प्रणाली अझ प्रभावकारी हुने, सेवामा हुने त्रुटि न्यून हुने, कर्मचारीमा जिम्मेवारीबोध र व्यावसायिक संस्कार विकास हुने तथा स्वदेशी र विदेशी ग्राहकबीच संस्थाप्रतिको विश्वास अझ मजबुत बन्ने विश्वास व्यक्त गरेको छ।
ट्रान्क्विलिटी स्पाका कार्यकारी निर्देशक तथा नेपाल स्पा एन्ड वेलनेस एसोसिएसनका अध्यक्ष सुरेश पुरीले नेपाल प्राकृतिक सौन्दर्य, योग, आयुर्वेद, ध्यान तथा वेलनेस पर्यटनका दृष्टिले विश्वकै सम्भावनायुक्त मुलुक रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र, पर्यटन उद्योग र वेलनेस समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा विस्तार गर्न सके नेपाललाई विश्वस्तरीय ८८‘वेलनेस डेस्टिनेसन’८८का रूपमा स्थापित गर्न सकिने धारणा राखे।
स्पाले यस उपलब्धिमा योगदान पुर्याउने कर्मचारी, ग्राहक, व्यवसायिक साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय गुणस्तर, सुरक्षित सेवा, ग्राहक सन्तुष्टि र निरन्तर सुधारलाई प्राथमिकतामा राखेर नेपाली वेलनेस उद्योगलाई अझ प्रतिस्पर्धी र विश्वसनीय बनाउने प्रतिबद्धता जनाएको छ।
गुणस्तरीय स्पा तथा वेलनेस सेवा केवल सौन्दर्यसँग मात्र सम्बन्धित नभई तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य, मांसपेशीको आराम, शरीरको थकान कम गर्ने तथा समग्र स्वास्थ्य प्रवर्द्धनमा पनि महत्वपूर्ण मानिन्छ। सुरक्षित, स्वच्छ र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालित वेलनेस सेवा विस्तार हुनु उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि सकारात्मक कदम मानिएको छ।