काठमाडौँ । आयुर्वेद औषधिको नाममा सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत प्रसारण भइरहेका भ्रामक र गैरकानुनी स्वास्थ्यसम्बन्धी विज्ञापनले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले तत्काल रोक लगाउन सरकारसँग माग गरेको छ। संघले वैज्ञानिक आधारबिनै औषधिको प्रभावकारिताबारे अतिरञ्जित दाबी गर्ने, कलाकार तथा इन्फ्लुएन्सरमार्फत प्रचार गर्ने र बिरामीको गोपनीयता उल्लङ्घन हुने गरी विज्ञापन गर्ने कार्य बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।
संघले जारी गरेको विज्ञप्तिअनुसार यसअघि नै सम्बन्धित सरकारी निकायलाई ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीका लागि अनुरोध गरिएको थियो। त्यसक्रममा नेपाल प्रहरीले केही गैरकानुनी गतिविधिमाथि अनुसन्धान तथा कारबाही अघि बढाएको जानकारी प्राप्त भए पनि हालसम्म विभिन्न सञ्चारमाध्यम र डिजिटल प्लेटफर्ममा यस्ता विज्ञापन निरन्तर प्रसारण भइरहेका छन्।
संघका अनुसार सार्वजनिक रूपमा प्रमाण माग गरेपछि प्राप्त विवरणले १०० प्रतिशत निको हुने,ग्यारेन्टी उपचारू, बिना साइड इफेक्ट जस्ता वैज्ञानिक आधार नभएका दाबी गर्दै औषधिको प्रचार भइरहेको देखाएको छ। त्यस्तै चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिस भएको जस्तो देखाइने विज्ञापन, कलाकार तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व प्रयोग गरेर औषधिको प्रचार, बिरामीको तस्बिर, भिडियो तथा व्यक्तिगत स्वास्थ्य विवरण सार्वजनिक गर्ने कार्य पनि भइरहेको जनाएको छ।
संघले यस्ता गतिविधि विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, औषधि ऐन, २०३५, उपभोक्ता संरक्षण ऐन, २०७५, गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा स्वास्थ्य व्यवसायीको पेशागत आचारसंहिताविपरीत रहेको उल्लेख गरेको छ। स्वास्थ्यसम्बन्धी विज्ञापनले उपचारसम्बन्धी निर्णयमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस क्षेत्रमा कानुनी नियमन अझ प्रभावकारी बनाउनुपर्ने संघको धारणा छ।
गैरकानुनी विज्ञापन तत्काल हटाउन, कानुनविपरीत औषधिको प्रचारप्रसार गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही अघि बढाउन, बिरामीको फोटो, भिडियो, परीक्षण प्रतिवेदन तथा व्यक्तिगत स्वास्थ्य विवरण विज्ञापनमा प्रयोग गर्न रोक लगाउन र स्वास्थ्यसम्बन्धी विज्ञापन प्रसारणअघि सम्बन्धित निकायको स्वीकृति अनिवार्य गर्ने व्यवस्था गर्न संघले सरकारसँग आग्रह गरेको छ। साथै कलाकार, सञ्चारमाध्यम, विज्ञापन एजेन्सी तथा डिजिटल प्लेटफर्मको जिम्मेवारी स्पष्ट पार्ने गरी आवश्यक निर्देशिका जारी गर्न पनि माग गरिएको छ।
विशेषगरी प्रजनन स्वास्थ्य, तौल नियन्त्रण, छाला तथा यौन स्वास्थ्यका नाममा गरिने अप्रमाणित औषधिको प्रचारले महिलालाई भ्रममा पार्ने, उपचारमा ढिलाइ गराउने र स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। त्यसैले कुनै पनि औषधि वा उपचार सुरु गर्नुअघि सम्बन्धित विषयका दर्ताप्राप्त चिकित्सकको सल्लाह लिनु र आधिकारिक रूपमा स्वीकृत औषधिमात्र प्रयोग गर्नु सुरक्षित र जिम्मेवार अभ्यास मानिन्छ।

-1785406213.jpeg)