काठमाडौँ । मानसिक स्वास्थ्य, व्यवहार विज्ञान र दिगो विकासका विषयमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नेशनल कलेजले साउन २१ देखि २३ गतेसम्म ‘इन्टरनेशनल कन्फ्रेन्स अन एप्लाइड साइकोलोजी (ICAP 2026)’ आयोजना गर्ने भएको छ।
नेपाल एसोसिएसन अफ साइकोलोजिस्ट्स र साइडेस्क फाउन्डेसनको सहकार्यमा हुने सम्मेलनको मूल नारा ‘व्यवहार विज्ञानको उन्नति : बहुविषयगत र अन्तरसांस्कृतिक दृष्टिकोण’ रहेको छ। सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, भारतलगायत २२ देशका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।
सम्मेलनमा मानसिक स्वास्थ्य, शिक्षा, कार्यस्थलको स्वास्थ्य, सामुदायिक उत्थान, सार्वजनिक नीति तथा दिगो विकासका विषयमा छलफल हुनेछ। साथै क्लिनिकल तथा काउन्सिलिङ मनोविज्ञान, न्युरोसाइन्स, कृत्रिम बुद्धिमत्ता (एआई) र मानसिक स्वास्थ्यलगायत विषयमा १६४ वटा अनुसन्धानपत्र प्रस्तुत गरिनेछन्।
सम्मेलन संयोजक तथा नेशनल कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले मानसिक स्वास्थ्यका बढ्दो चुनौती समाधानका लागि प्रमाणमा आधारित मनोवैज्ञानिक हस्तक्षेप र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार सम्मेलनले मानसिक स्वास्थ्य सेवा, अनुसन्धान र नीतिगत सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुर्याउनेछ।
आयोजकका अनुसार सम्मेलनमा उत्कृष्ट अनुसन्धानपत्रहरू विभिन्न सहकर्मी समीक्षित जर्नलमा प्रकाशन गरिनेछन्। सम्मेलनले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्त्वपूर्ण विषयका रूपमा स्थापित गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मनोविज्ञान अनुसन्धान र शैक्षिक सहकार्यको केन्द्रका रूपमा अघि बढाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।