नेपालगञ्ज । जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु जीवजन्तुसँग सम्बन्धित घटनाको उपचारलाई थप प्रभावकारी बनाउन भेरी अस्पतालले ‘बाइट रजिष्ट्रि (BITE Registry)’ सञ्चालनमा ल्याएको छ। यो प्रणाली विद्युतीय स्वास्थ्य अभिलेख (EHR) सँग जोडिएको छ।
अस्पतालका अनुसार अब बिरामीको विवरण, चोटको अवस्था, उपचार प्रक्रिया, रेबिजविरुद्धको खोप, एन्टि–स्नेक भेनमको प्रयोग तथा उपचारपछिको स्वास्थ्य अवस्थासमेत डिजिटल रूपमा अभिलेख गरिनेछ। यसबाट उपचारको गुणस्तर सुधार, औषधिको आवश्यकता योजना, अनुसन्धान तथा प्रमाणमा आधारित स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईंका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालमा जनावरको टोकाइका ८ हजार ४०४ र सर्पदंशका ८० घटना अभिलेख भएका छन्। अस्पतालले आगामी दिनमा यो प्रणालीलाई विस्तार गर्दै ‘नेपाल बाइट रजिष्ट्रि’ का रूपमा विकास गर्ने लक्ष्य लिएको छ।