चितवन । भरतपुर अस्पतालमा प्रसूति सेवामा अत्यधिक चाप बढेपछि शय्या अभावका कारण केही गर्भवती तथा सुत्केरी महिलालाई अस्थायी रूपमा ‘म्याट्रेस’मा राखेर सेवा दिनुपरेको छ।
अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार असारको दोस्रो सातादेखि भदौसम्म दैनिक ४०–५० वटा प्रसूति हुने भएकाले उपलब्ध १११ शय्या पर्याप्त हुन सकेका छैनन्। शय्या खाली भएपछि मात्र औषधि र उपचारका लागि बेडमा सारिने गरिएको उनले बताए ।
चितवनसहित आसपासका जिल्लाका गर्भवती महिलाको पहिलो रोजाइ भरतपुर अस्पताल भएकाले यो समयमा सेवा चाप अझ बढ्ने गरेको अस्पतालको भनाइ छ। अस्पतालमा विशेषज्ञ चिकित्सक, दक्ष नर्सिङ टोली, २० शय्याको नवजात शिशु सघन उपचार कक्ष ९ल्क्ष्ऋग्० र ‘कङ्गारु मदर केयर’ सेवा उपलब्ध भएकाले पनि सेवाग्राहीको आकर्षण बढेको हो।
गत आर्थिक वर्षमा अस्पतालबाट ७ हजार ८५३ महिलाले प्रसूति सेवा लिएका थिए, जसमा करिब ४५ प्रतिशत प्रसूति शल्यक्रियामार्फत गरिएको अस्पतालले जनाएको छ।