काठमाडौं । आमरण सत्याग्रहमा रहेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा सरकारले समस्या समाधानका लागि पुनः वार्ताको तयारी थालेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नर्सहरूको माग र स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर तथा संवेदनशील रहेको बताएकी छन्।
सोमबार सार्वजनिक वक्तव्यमा मन्त्री मेहताले मन्त्रालयले सुरुदेखि नै वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत निरन्तर संवाद र समन्वय गर्दै आएको उल्लेख गरेकी छन्। स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिले पनि सहमतिका लागि पहल गरिरहेको उनले जानकारी दिइन्।
हाल आफू सुनसरीमा भएको दुःखद घटनापछि त्यहाँको व्यवस्थापन, पीडित परिवारसँग समन्वय र अवस्था सामान्य बनाउन खटिएको उल्लेख गर्दै मन्त्री मेहताले नर्सहरूको आन्दोलनलाई भने सरकारले प्राथमिकतामै राखेको स्पष्ट पारेकी छन्। सम्बन्धित पक्षसँग पुनः वार्ता गरी सहमतिमा पुग्ने प्रयास जारी रहेको उनको भनाइ छ।
नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, श्रम शोषण अन्त्य गर्न र सुरक्षित तथा सम्मानजनक कार्य वातावरणको मागसहित १५ बुँदे माग राख्दै नर्स ज्योति रानाभाट आमरण सत्याग्रहमा छिन्। लामो अनशनका कारण उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको बताइएको छ।
यो आन्दोलन केवल एक नर्सको सत्याग्रह मात्र होइन, स्वास्थ्य सेवाको मेरुदण्ड मानिने नर्स तथा मिडवाइफहरूको श्रम, सम्मान र सुरक्षित कार्य वातावरणसँग जोडिएको विषय पनि हो। वार्ता सफल भई स्वास्थ्यकर्मीका जायज माग सम्बोधन हुन सके त्यसले स्वास्थ्य सेवा प्रणाली र मातृ–नवजात स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।