काठमाडौं । आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटका प्रतिनिधि र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच सोमबार वार्ता सुरु भएको छ।
वार्तामा मन्त्रालयको तर्फबाट स्वास्थ सचिव डा। विकास देवकोटा, अतिरिक्त सचिव डा।संगीता मिश्रका साथै मन्त्रीका प्रमुख सल्लाहकार र कानुन शाखाका प्रतिनिधिहरू सहभागी छन् ।
नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्य, सुरक्षित तथा सम्मानजनक कार्य वातावरणलगायत १५ बुँदे मागलाई केन्द्रमा राखेर मन्त्रालयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
लामो समयदेखि जारी सत्याग्रहका कारण रानाभाटको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सरकारले वार्तामार्फत सहमति खोज्ने प्रयास तीव्र बनाएको हो। यसअघि पनि मन्त्रालयले वार्ता समिति, मन्त्रालयका अधिकारी तथा सम्बन्धित निकायमार्फत पटक–पटक संवादको पहल गरेको जनाएको थियो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समेत नर्सहरूको मागप्रति सरकार संवेदनशील रहेको बताउँदै संवादमार्फत समाधान निकाल्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।