नेपालगञ्ज । करिब दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान सेवा सोमबारदेखि भेरी अस्पताल, नेपालगञ्जमा पुनः सञ्चालनमा आएको छ। सेवा सुरु भएसँगै उपचारका लागि अन्यत्र जानुपर्ने बिरामीको बाध्यता कम हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालका अनुसार मेसिनको ट्युब बिग्रिएपछि सेवा अवरुद्ध भएको थियो। नयाँ ट्युब जडानपछि अब विशेषज्ञ चिकित्सकको सिफारिसमा अस्पतालमै सिटी स्क्यान सेवा उपलब्ध हुने उनले बताए। सञ्चालनको पहिलो दिन पाँच जनाले सेवा लिएका छन्।
यसैबीच, भेरी अस्पतालमा प्रसूति सेवा लिने महिलाको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा ६ हजार ५९७ महिलाले सुत्केरी सेवा लिएका छन्, जुन अघिल्लो वर्षको ५ हजार ६०८ भन्दा बढी हो। गत आर्थिक वर्षमा ४ हजार १४५ सामान्य, २०५ भ्याकुम वा फोर्सेपमार्फत र २ हजार २४७ सिजेरियन प्रसूति गरिएको अस्पतालले जनाएको छ।
सरकारको सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत प्रसूति तथा शल्यक्रिया सेवा निःशुल्क उपलब्ध गराइँदै आएकाले सेवाग्राहीको आकर्षण बढेको अस्पतालको भनाइ छ।