काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गराउन देशभरका सेवाप्रदायक अस्पतालका सम्पर्क अधिकारी (फोकल पर्सन) को विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार सङ्घीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालमा निःशुल्क उपचारसम्बन्धी समन्वय र गुनासो व्यवस्थापनका लागि जिम्मेवार अधिकारी तोकिएका छन्। सेवाग्राहीले समस्या परे सम्बन्धित फोकल पर्सनसँग सिधैँ सम्पर्क गर्न सक्नेछन्।
मन्त्री निशा मेहताको सचिवालयका अनुसार कार्यविधिअनुसारको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा व्यवहारमै सुनिश्चित गर्न मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाइ गरेको हो। मन्त्रालयले आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी जानकारी लिन तथा गुनासो गर्न सेवाग्राहीलाई आग्रह गरेको छ।