काठमाडौँ । मनसुन सक्रिय भएसँगै नेपालमा डेंगु संक्रमणको जोखिम पुनः बढ्न थालेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०८२ पुसदेखि २०८३ साउन १५ सम्म देशका ७२ जिल्लामा २ हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै ५६८ र गण्डकी प्रदेशमा ५३२ जना संक्रमित भेटिएका छन्। जिल्लागत रूपमा झापा, बागलुङ, सुनसरी, पाल्पा र कास्की सबैभन्दा बढी प्रभावित रहेका छन्।
वर्षायाममा लामखुट्टेको प्रजनन तीव्र हुने भएकाले आगामी महिनामा संक्रमण अझ बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले ‘श्रावण–भाद्र–आश्विनस् डेंगु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत डेंगु सार्ने एडिस एजिप्टी लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने, स्थानीय तहसँग समन्वय गर्ने तथा समुदायमा जनचेतना फैलाउने कामलाई प्राथमिकता दिइएको छ।
महाशाखाले घर, कार्यालय र सार्वजनिक स्थानमा पानी जम्न नदिन, पुराना टायर, ड्रम, गमला तथा खुला भाँडाहरू नियमित सफा गर्न आग्रह गरेको छ। साथै, पूरा बाहुलाका लुगा लगाउने, झुल तथा जाली प्रयोग गर्ने र ज्वरो, टाउको तथा शरीर दुख्ने, आँखा पछाडि दुख्ने वा शरीरमा रातो बिमिरा देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन सबैलाई अनुरोध गरेको छ।