काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले संस्थाभित्र हुने अनियमितता, भ्रष्टाचार र बेथितिविरुद्ध प्रमाणसहित उजुरी गर्न सर्वसाधारणलाई आह्वान गरेको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उजुरी तथा गुनासो अध्ययन–छानबिन समितिका संयोजक डा। दीपेश घिमिरेले रेडक्रसलाई पारदर्शी, जवाफदेही र सुशासित संस्था बनाउने उद्देश्यले उजुरी संकलन अभियान सञ्चालन गरिएको जानकारी दिए।
उनका अनुसार यसअघि दिइएको ३५ दिनको म्याद सकिएपछि थप २० दिनको समय थप गरिएको छ। इच्छुक व्यक्तिले भदौ ३ गतेभित्र तथ्य र प्रमाणसहित उजुरी पेश गर्न सक्नेछन्।
रेडक्रसले उजुरीकर्ताको पहिचान गोप्य राखिने जनाएको छ। उजुरी [email protected] इमेल, निःशुल्क हटलाइन ११३० वा ह्वाट्सएप ९७४१६९५०९७ मार्फत पठाउन सकिने व्यवस्था गरिएको संस्थाले जनाएको छ। प्राप्त सबै उजुरी निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा छानबिन गरिने पनि रेडक्रसले स्पष्ट पारेको छ।